बलात्कार

सेतो बाक्लो कुहिरोभित्र
ढाकिएको प्रतिबिम्ब
जब सलबलाउँछ घामको अभावमा
नाच्दछ युगको अन्धकार बुख्याँचा
असभ्य ताण्डव रतिको रागमा ।

जसरी छिर्छ अन्धकार गोलमा
अपराधी जीव बिक्छ्न् सस्तो मोलमा
दाग लगाएर मानवताको खोलमा
सन्तुष्टि संकीर्ण बन्छ वीर्य झोलमा
यो सब रमिता टुलुटुलु हेर्दछ मानव
अनि भाग्दछ ईश्वर सुदूर टोलमा ।

हावाले हल्लाएर पातहरु पिपलका
बनिन्छन् तस्बिर केबल अध्यारा भित्ताका
उनिहरुका आफ्नै आवाजका ज्वालाहरुले
जलाउँदछन् आफ्नै पबित्र नारीत्वलाई ।
हो यस्तै हुन्छ बुख्याँचाहरुको ताण्डव नाच
जसलाइ पस्केर सस्ता सस्तामा
खुसी लुटिन्छ किस्ता किस्तामा ।

बिर्सिएर उनको त्यो जुनेली मुहार
उनको जंगली शिलालेख कोर्छ
डराएको अनुहार नजिकै
औँलाले चमकदार चक्कुको ताण्डव नाच गराउँछ
सुकेको आवाजको छेउमा लुगा लगाउँछ ।

पलपल चीत्कारको बेवास्ता गर्दै
मोहनी आवाजसँग मस्की मस्की
वीर्यको दलदलमा
उसले आफ्नो क्षेत्र सुरक्षित गर्दै
कहिल्यै नमेटिने चिह्न लगाउँछ ।



उनको विवस्ताको नग्न रुपमा
उसको गिद्दे नजर पर्छ
अनि सुस्तरी उनका
कलिला छ्यापी जस्तै खुट्टा मुसार्छ
आफूसहित उनलाई दुबै ढुङ्गामा पछार्छ
उनलाई के होला भन्ने बिर्सदै
लाचारी परजिबि अत्याचारी दानव बनेर
चिरा पार्दै ती कलिला ओठहरुमा
आफ्ना ओठ्हरुले पबित्रतालाइ लत्याउदै
उनको निर्दोष शरीरमा बलात्कारको ढुङ्गा बजार्छ।
तर
उसको ओठ उनलाई आगो भन्दा कम थिएन
उसको बोज उनलाई मृत्यु भन्दा कम थिएन ।
अनि उसका ति आँखाहरु
जति उनको आखामा डुब्न खोज्थ्यो
उति उति उति गहिरो नर्कमा भासिन्थ्यो ।

श्वासविहीन रोदन उनको ओँठबाट निस्किरहन्छ ।
बिस्तारै बिस्तारै सैतान हराउँछ
सत्य त्यो परिवर्तन हुन्छ आगोको स्वादमा ।
हावा परिवर्तित हुन्छ दुषित बनिदिएर
अनि छालहरू ठूलो नीलो पर्खाल बनिरहन्छन ।

उनी झुन्डिन्छिन् जहाजको पङ्खाजस्तै
जब त्यो पुग्छ समुद्रको गहिराइमा
उनलाई आकाशबाट पानी बर्सेको थाह भएन
उनलाई समुद्र जलेको पनि थाह भएन

घामको अन्धकारसँगको सौदा
सजिलै नै त रहेछ ।
क्रान्ति गर्छु भनी हातमा बन्दुक लिएर हिँडेको
युवा गुमनाम भएपछि
उसकी आमा उसलाई पर्खिरहेकी जस्तै
उनी गुमनाम भएको कुमारीत्व फर्किन्छ कि भनी
कुरिरहिन्
तर,क्रान्तिमा हिँडेको युवाको लास आएजस्तै
उनको आशाको लास मात्र फर्कियो ।

उसले शृंखलाबद्ध हत्या गरेको देख्दा यस्तो लाग्छ
ऊ हिटलरको पुनर्जन्म हो,
अनि उसले बलात्कार गरेको देख्दा यस्तो लाग्छ
ऊ फूलहरुको सौन्दर्यलाई निचोर्न जन्मेको हो,
उसले सुन्दर प्रकृति कुरुप पारेको देख्दा यस्तो लाग्छ
ऊ मानवताको वस्तीमा जन्मेको दानवता हो ।

रात कुहिरोको काखमा निदाउँछ
उनको चिहानमा बिहान उदाँउछ
एक भोगाइका अनेक दुखाइ
सहिरहनेछिन उनी आँसु बगाई
यहाँ निर्दोष आँसु बग्नु नियति बन्छ
आँसुका चीत्कार उनको खै कसले सुन्छ?
जहाँ हरेक दिन खुसीको बलात्कार हुन्छ..
एक दिन पछिका हरेक दिन उस्तै रहदैँनन् यहाँ
अब समयको गर्भमा बसेर समय स्वयम् रुन्छ!

Previous Next